
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ। हाल देशका अधिकांश क्षेत्रमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर बदली रहने र अधिकांश प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

































