
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्। मंगलबार २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी तामाङ हाल काठमाडौँको जोरपाटीमा बस्दै आएका थिए र बालाजुस्थित एक बेकरी उद्योगमा कार्यरत थिए। प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङपछि रिहा गरिएको छ।

प्रहरी अनुसन्धानबाट तामाङले जोरपाटीस्थित एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको खुलेको छ। उनले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न पाँच पटकसम्म प्रयास गरेको तर सफल हुन नसकेपछि निराश भएर आत्मदाहको प्रयास गरेको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रातोपाटी बाट
































