
देशभर लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्न थालेपछि सरकारले जिल्ला समन्वय समिति, सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै रहेर जिम्मेवारी सम्हाल्न कडा निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमा विपद्को संवेदनशील अवधिभर नियमित रूपमा कार्यालयमा उपस्थित भई उद्धार, राहत, समन्वय तथा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन भनिएको छ।

परिपत्रअनुसार सम्बन्धित अधिकारीहरूले विपद् व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रिया, समन्वय र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। बिदामा रहेका कर्मचारी तथा अधिकारीलाई समेत बिदा छोट्याएर तत्काल कार्यस्थल फर्किन निर्देशन दिइएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार तथा सङ्घीय निकायसँग निरन्तर समन्वय गर्दै सूचना आदान–प्रदान, उद्धार, राहत वितरण र क्षतिको विवरण सङ्कलनमा सक्रिय रहन भनिएको छ। विशेष परिस्थितिमा कार्यालय छाड्नुपरे सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले विपद्को समयमा द्रुत निर्णय, प्रभावकारी उद्धार र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
































