
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। मधेस प्रदेश र कोशीका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, कर्णालीका पहाडी भूभाग र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।































