
बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक वन, जैविक विविधता संरक्षण तथा भूमिगत पानी पुनर्भरणका लागि संघीय सरकारबाट प्राप्त ६६ लाख रुपैयाँमध्ये ठूलो हिस्सा नगरपालिका परिसरमा निर्माण भइरहेको जैविक विविधता पार्कमा खर्च गर्ने निर्णय गरेको पाइएको छ। विशेष प्रयोजनका लागि प्राप्त रकम पार्कको संरचना, सजावट तथा सौन्दर्यीकरणमा विनियोजन भएपछि बजेटको उद्देश्य र खर्चबीच तालमेलमाथि प्रश्न उठेको हो।

नगर कार्यपालिकाको ९१औँ बैठकले रकमलाई आठ वटा शीर्षकमा बाँड्ने निर्णय गरेको थियो। वडा नम्बर ३ मा सतिवन तथा ऐरिम देवा संरक्षणका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ। बाँकी रकममध्ये टी–गार्ड खरिदमा १० लाख, फलफूलका बिरुवामा ७ लाख, चाइनिज दुबो तथा उन्नत घाँसमा ८ लाख, गमला खरिदमा २ लाख, पानी पोखरी तथा फोहरा निर्माणमा १५ लाख, काँडेतार तथा तारबारमा ७ लाख र ढुवानीमा २ लाख रुपैयाँ छुट्याइएको छ।
यसअनुसार ५१ लाख रुपैयाँ नगरपालिका कार्यालय परिसरको पार्कसँग सम्बन्धित काममा विनियोजन गरिएको देखिन्छ। स्थानीयले विशेष अनुदानको रकम स्वीकृत उद्देश्यअनुसार लक्षित क्षेत्रमा खर्च गर्नुपर्ने भन्दै कार्यालय परिसरको सौन्दर्यीकरणमा ठूलो रकम छुट्याउनु उचित नभएको बताएका छन्।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले भने १ करोड २५ लाख रुपैयाँको प्रस्ताव पेस गरिए पनि ६६ लाख मात्र प्राप्त भएको र वडा नम्बर १ र ३ मा ३२ लाखभन्दा बढी खर्च नभएको दाबी गरेका छन्। बाँकी रकम फ्रिज भएको तथा कार्यालय क्षेत्रमा पाँचवटा रिजार्ज पोखरी निर्माण गरिएको उनको भनाइ छ। स्थानीयले भने खर्चको कानुनी आधार र उद्देश्यसँगको सम्बन्ध स्पष्ट पार्न माग गरेका छन्।
































