संघर्षपूर्ण राजनीतिक यात्राबाट सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म खगराज भट्ट

Image
Nisarga Hospital

धनगढीः  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन्। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका भट्टले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन जिम्मेवारी, शान्ति प्रक्रिया र संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्वर्गीय रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिँला सुपुत्रका रूपमा जन्मिएका भट्टले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन्। उनको स्थायी घर अजयमेरु–४, चौडी, डडेल्धुरा हो।

भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोड्दै वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए। वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा नेकपा जिल्ला कमिटी सदस्य बने।

राजनीतिक जीवनको प्रारम्भिक चरणमा उनी विद्यार्थी आन्दोलनमा समेत सक्रिय रहे। अखिल क्रान्तिकारीको संगठन विस्तार तथा सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा उनले भूमिका निर्वाह गरे। डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनमा काम गर्दै उनी क्रमशः जिल्ला तहबाट क्षेत्रीय हुँदै केन्द्रीय जिम्मेवारीतर्फ अघि बढे।

भूमिगत जीवन र जेल

माओवादी आन्दोलनका क्रममा राज्यको दमन तीव्र भएपछि भट्ट पक्राउ परेका थिए। वि.सं. २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे। जेलबाट मुक्त भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भए। त्यसपछिको समय सुदूरपश्चिममा संगठन विस्तार, राजनीतिक सम्पर्क र पार्टीको आधार बलियो बनाउने काममा केन्द्रित रह्यो।

जनयुद्धकालमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले। कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै क्षेत्रीय नेतृत्वमा स्थापित भएका उनी वि.सं. २०६० मा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरे। त्यसपछि केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक र संगठनात्मक गतिविधिलाई निरन्तरता दिए।

परिवार पनि राजनीतिक आन्दोलनमा

भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित छैन। उनको परिवारका सदस्यसमेत राजनीतिक आन्दोलनमा सक्रिय थिए। उनका दाजु जयराज भट्ट राजनीतिक आन्दोलनमा सक्रिय रहँदै जनयुद्धकालमा शहीद भएका थिए। भाइ उमेश भट्ट भूमिगत राजनीतिमा सक्रिय भए। भाउजू नन्दा देवी भट्ट, श्रीमती मञ्जु बम तथा भाइबुहारी धर्मा बोहरासमेत पूर्णकालीन राजनीतिक गतिविधिमा संलग्न रहे।

शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा

नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिबाट खुला राजनीतिक र संसदीय अभ्यासमा प्रवेश गरे। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे। यसले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित बनायो।

संघीय गणतान्त्रिक संरचना स्थापना भएपछि उनको राजनीतिक सक्रियता सुदूरपश्चिममा थप केन्द्रित भयो। उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे। प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै उनले प्रदेशको संस्थागत विकास, संगठन विस्तार र सुदूरपश्चिमका विकासका मुद्दामा भूमिका निर्वाह गर्दै आए।

प्रदेशसभा हुँदै मुख्यमन्त्रीसम्म

वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भए। प्रदेशसभामा प्रवेश गरेपछि उनी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतासमेत बने।

पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। उक्त संसदीय दलको नेतृत्वसमेत भट्टले गरिरहेका छन्।

दशकौँ लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, जेल, संगठन निर्माण, जनयुद्ध, शान्ति प्रक्रिया र संसदीय अभ्यास हुँदै भट्ट अब सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। प्रदेशको विकास, राजनीतिक स्थायित्व र जनअपेक्षा सम्बोधन गर्ने चुनौतीबीच उनको नयाँ जिम्मेवारीलाई उनको लामो राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।