
बाजुराका नौवटै स्थानीय तहका करिब ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहे पनि हालसम्म सार्न सकिएको छैन।

भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनका कारण जिल्लाका बस्ती जोखिममा परेका हुन्। जोखिममा रहेका स्थानीयले वर्षौंदेखि सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै आए पनि सरकारी प्रक्रिया अघि बढ्न नसकेको गुनासो गरेका छन्।
बडीमालिका नगरपालिकाका १६, बुढीगङ्गाका १२, त्रिवेणीका १६, बुढीनन्दाका ११, गौमुलका १२, खप्तड छेडेदहका १०, जगन्नाथका पाँच, स्वामीकार्तिक खापरका सात र हिमाली गाउँपालिकाका चार बस्ती जोखिममा छन्।


जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जोखिममा रहेका अधिकांश बस्ती स्थानान्तरणका लागि सम्भावित सुरक्षित क्षेत्र पहिचान गरिए पनि आवश्यक प्रक्रिया, बजेट र स्रोतको अभावमा काम अघि बढ्न सकेको छैन। स्थानीय तहहरूले विभिन्न क्षेत्रमा सुरक्षित स्थान पहिचान गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७७ यता बाजुरामा बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी ६२ जनाले ज्यान गुमाइसकेका छन्। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने भए पनि आवश्यक बजेट, प्रक्रिया र व्यवस्थापनको अभावमा कार्यान्वयनमा कठिनाइ भइरहेको बताए।
वर्षायाममा जोखिम झन् बढ्ने भएकाले सम्भावित विपद् न्यूनीकरणका लागि जोखिममा रहेका बस्तीको स्थानान्तरणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिएको छ।































