
अत्तरियाः छुट्टै पहिचान र मौलिक संस्कृति बोकेको रानाथारू समुदायले आफ्नो परम्पराअनुसार तिज पर्व उल्लासका साथ मनाएका छन्। समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै निराहार व्रत बसेर पर्व मनाएका हुन्।

अन्य समुदायले भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरे पनि रानाथारू समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने परम्परा छ। पर्व आउनुभन्दा करिब १५ दिनअघि दिदीबहिनी तथा आफन्तलाई निम्ता दिने र गाउँमा ‘सावनकी डोला’ अर्थात् पिङ हाल्ने चलन रहेको रानाथारू समुदायका जानकार पर्शुराम रानाले बताए।
तिजका दिन व्रतालु महिलाहरूले पुरी, पापड, सेमइ, पकौडा, गुलगुलालगायतका परिकार तयार गरी चेलीबेटी, छिमेकी तथा आफन्तलाई खुवाउने गर्छन्। विवाहित महिलासमेत माइती घरमा पुगेर व्रत बस्ने, पिङ खेल्ने र आफन्तसँग रमाइलो गर्ने गरेका छन्।


भीमदत्त नगरपालिका–१४ की केशमती रानाका अनुसार महिलाहरूले पानीसमेत नखाई निराहार व्रत बस्ने गर्छन्। साँझपख कुसको गाँठो बनाएर चाँदीको सिक्काले काटी नदीमा बगाउने चलन छ। नदीमा कुस जति तलसम्म बग्छ, दाजुभाइको आयु पनि त्यति नै लामो हुने धार्मिक विश्वास रहेको उनले बताइन्।
रानाथारू समुदायमा तिजलाई खेतीपातीको कामपछि थकाइ मेटाउने पर्वका रूपमा समेत लिइन्छ। साउनभर ‘सावनकी डोला’ राखेर पिङ खेल्ने परम्परा रहे पनि वनबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ निर्माणमा समस्या हुन थालेको स्थानीय बताउँछन्। अहिले कतिपय ठाउँमा फलामका खम्बा प्रयोग गरेर पिङ बनाउने गरिएको छ।
रानाथारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको तिज पर्व पछिल्लो समय नयाँ पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको स्थानीयको भनाइ छ।





























