अत्तरियामा ग्यासको आंशिक अभाव, आपूर्ति घट्दा उपभोक्ता चिन्तित

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आंशिक अभाव देखिएको छ। व्यवसायीहरूले ग्यासको आपूर्ति घट्नु र उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर मौज्दात राख्न थालेपछि माग धान्न कठिन भएको बताएका छन्।

CP Hospital Dhangadhi

महाराजा सप्लायर्सका सञ्चालक शेरबहादुर धामीका अनुसार विगतमा दैनिक चार गाडी ग्यास आउने गरेकोमा अहिले दुई गाडी मात्र आउने गरेको छ। पर्याप्त ग्यास नआए पनि पूर्ण अभाव भने नरहेको उनले बताए। उनका अनुसार आएको ग्याससमेत उपभोक्ताले एकैपटक दुई–तीनवटा सिलिन्डर खरिद गर्दा छोटो समयमै सकिने गरेको छ।

nawajiwan
Attariya Hospital

यता, अत्तरियास्थित एसडी ट्रेड एण्ड सप्लायर्सकी सञ्चालक तथा भेरी ग्यासकी आधिकारिक बिक्रेता पार्वती भट्टले कम्पनीबाट ग्यासको आपूर्ति भइरहेको बताइन्। तर, उपभोक्ताले स्टक राख्न एकभन्दा बढी सिलिन्डर खरिद गर्न थालेपछि माग धान्न कठिन भएको उनको भनाइ छ। उनका अनुसार यसअघि दैनिक २५ देखि ३० सिलिन्डर बिक्री हुने गरेकोमा अहिले एकैपटक १५० भन्दा बढी सिलिन्डर आउने र केही घण्टामै सकिने गरेको छ।

निङलासैनी ट्रेडर्सका सञ्चालक तथा भेरी ग्यासका डिलर कल्याण सिंह बोहराले भने फ्याक्ट्रीबाट मागअनुसार ग्यास पाउन कठिन भइरहेको बताए। उनका अनुसार पहिले मासिक करिब एक हजार सिलिन्डर सहज रूपमा बिक्री हुने गरे पनि अहिले एक सयदेखि डेढ सय सिलिन्डरसमेत ल्याउन मुस्किल भइरहेको छ।

आपूर्ति घटेसँगै अत्तरियाका उपभोक्तामा ग्यास अभाव हुने चिन्ता बढेको छ। कतिपयले अभावको आशंकामा दुई–तीनवटासम्म सिलिन्डर मौज्दात राख्न थालेका छन्। व्यवसायीहरूले भने उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेका छन्।