
अत्तरियाः सुदूरपश्चिम प्रदेशमा डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ आज भदौ १ गते धुमधामका साथ मनाइँदैछ। वर्षायाममा दैवीप्रकोप तथा रोगव्याधिबाट जोगिएको खुसी साट्दै आपसी सद्भाव, सम्मान र भाइचारा बढाउने उद्देश्यले यो पर्व मनाउने परम्परा रहेको छ।

कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीका अनुसार ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु भन्ने बुझिन्छ। पर्वका अवसरमा आफन्त तथा मान्यजनका घरमा पिँडालुका पात, काँक्रा, भण्टा, मुला र विभिन्न हरियो सागपात उपहार दिने चलन छ। यसलाई सम्मान र आत्मीयता प्रकट गर्ने माध्यमका रूपमा लिइन्छ।
ओल्केको दिन विभिन्न देवस्थलमा देवताको आह्वानस्वरूप चैत–धमारीको शुभारम्भ गर्ने तथा ‘बूढी’ बाँड्ने परम्परा पनि छ। गाउँ नजिकका चौबाटोमा सल्लाको लिङ्गो गाडेर ‘बूढी हाल्ने’ गरिन्छ। उक्त लिङ्गो कतै भदौ मसान्त र कतै असोज १ गते जलाउने चलन छ, जसलाई ‘बूढी पोल्ने’ भनिन्छ।


डोटेली समुदायमा ओल्केका दिन फाँणो भात, गतानी डुब्का, भक्के रोटीलगायत स्थानीय परिकार खाने तथा नाचगान गरेर रमाइलो गर्ने गरिन्छ। विगतमा वर्षायाममा दादुरा, झाडापखाला, लुतो, हैजालगायत रोग फैलिने भएकाले ती विपत्तिबाट जोगिएको खुसीमा पर्व मनाउने परम्परा बसेको मानिन्छ।
पौराणिक मान्यताअनुसार भगवान श्रीकृष्णले राक्षसी पुतना वध गरेपछि ग्वालाहरूले उनको शव जलाएको स्मरणमा ‘बूढी पोल्ने’ परम्परा चलेको विश्वास गरिन्छ। ओल्केले आसुरी प्रवृत्तिको अन्त्य गर्दै सत्य, मित्रता र भाइचारा बलियो बनाउने सन्देश दिने जोशी बताउनुहुन्छ।
साउन सकिएर भदौ सुरु भएसँगै ओल्केपछि सुदूरपश्चिममा गौरा, तीजलगायत पर्वको रौनकसमेत बढ्ने गर्छ। पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।































