
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

मुख्यमन्त्री भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गर्नुभएको हो। त्यसलगत्तै उहाँले विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको थियो।

मुख्यमन्त्रीको पत्रअनुसार प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक आह्वानका लागि कार्य व्यवस्था परामर्श समितिले समेत निर्णय गरिसकेको छ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेसँगै प्रदेश सरकारको आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ। एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भट्टलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभामा आवश्यक बहुमत जुटाउनुपर्नेछ। आजको बैठकबाट सरकारको स्थायित्व र आगामी राजनीतिक दिशाबारे समेत स्पष्ट हुने अपेक्षा गरिएको छ।































