
अत्तरियाः कैलालीको अत्तरियामा ‘बृहत् रक्तदान जीवनदान शिविर–२०८३’ को आयोजना गरिएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको आयोजनामा ‘विश्व बन्धुत्व दिवस’ तथा राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यतिथि एवं स्मृति दिवसका अवसरमा शिविर आयोजना गरिएको हो।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल भावनाका साथ आयोजित शिविरमा स्थानीय संघसंस्था प्रतिनिधि, सशस्त्र प्रहरी बल , युवा क्लब, व्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदान गर्ने दातालाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा पुण्य र मानवीय सेवामध्ये एक भएको बताए। उनले नियमित रक्तदानले संकटमा परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने भन्दै रक्तदान अभियानलाई निरन्तरता दिन आयोजक तथा स्थानीय समुदायलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । नगर प्रमुख भट्टले सामाजिक सेवाका यस्ता अभियानले समुदायमा सहयोग, सद्भाव र मानवताको भावना थप मजबुत बनाउने उल्लेख समेत गरे ।
रक्तदान शिविरमा लामो समयदेखि रक्तदान गर्दै आएका धनगढीका दिपक उपाध्यायलाई विशेष सम्मान गरिएको थियो। उपाध्यायले हालसम्म ११४ पटक रक्तदान गरिसकेका छन्। आयोजकले रक्तदानमार्फत मानवीय सेवा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
































