
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहरा र महाकाली यातायात प्रालिबीच मंगलबार साँझ सहमति भएको छ। पीडित पक्षले कानुनबमोजिम १० लाख सहित क्षतिपूर्ति पाउने तथा दुर्घटनामा संलग्न चालकलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार पीडित परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ। छलफलमा सहभागी बझाङी सेवा समाजका अध्यक्ष झलक ऐडीले पनि पीडित पक्षलाई कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति दिने र चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको जानकारी दिए।
मंगलबार दिउँसोभर पीडित पक्ष र यातायात व्यवसायीबीच वार्ता भए पनि लामो समयसम्म सहमति जुट्न सकेको थिएन। सहमति नभएपछि पीडित पक्षले बुधबारदेखि अत्तरियामा आन्दोलन तथा चक्काजाम गर्ने घोषणा गरेका थिए। तर साँझ सहमति भएपछि घोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा तथा बझाङको मस्टा गाउँपालिका–६ का वडाध्यक्ष शिवराज बोहराले बताए।


सहमति जुटेपछि अब मृतकको शव बुझ्ने तयारी गरिएको उनले जानकारी दिए। आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले अत्तरिया बसपार्कमा पानी बेचिरहेकी ५३ वर्षीया बोहरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि आक्रोशित स्थानीय तथा आफन्तले आइतबारदेखि अत्तरियामा प्रदर्शन गर्दै आएका थिए। प्रहरीले बस र चालक दार्चुलाको मालिकार्जुन–२ का २४ वर्षीय रोहितसिंह धामीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।































