
भोटेकोशी बाढीपछि रसुवालगायत प्रभावित क्षेत्रमा जनधनको क्षतिसँगै संक्रामक रोग फैलिने जोखिम बढेको छ। नेपाल प्रहरीका अनुसार बुधबार साँझसम्म बाढीमा परी ३५९ जनाको शव फेला परेको छ भने ९०० भन्दा बढी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा दूषित पानी, असुरक्षित खाना, फोहोर व्यवस्थापनको समस्या र भीडभाडका कारण हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।

नुवाकोटको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले नदीमा शव बगेर आएको र समयमै व्यवस्थापन हुन नसके बस्तीमा स्वास्थ्य जोखिम बढ्न सक्ने बताएकी छन्। बाढीका कारण पाइपलाइन, कुवा र मुहानमा दूषित पानी मिसिन सक्ने भएकाले सुरक्षित खानेपानीलाई पहिलो प्राथमिकता दिनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूलीलगायत क्षेत्रमा रोगको नियमित निगरानी आवश्यक रहेको बताएका छन्। संक्रमित पानी तथा मलमूत्रको सम्पर्कबाट लेप्टोस्पाइरोसिस र झाडापखाला फैलिन सक्ने उनको भनाइ छ।


संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिबाट शुद्धीकरण गरेर मात्र पिउन तथा बाढीको पानीले छोएको वा बिग्रिएको खाना नखान आग्रह गरेका छन्। शिविरमा साबुनपानीले हात धुने, व्यवस्थित शौचालय प्रयोग गर्ने र फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन्।
बाढीपछि जमेको पानीका कारण लामखुट्टे बढेर डेङ्गु र मलेरियाको जोखिमसमेत बढ्न सक्ने भएकाले झुल प्रयोग, शरीर ढाक्ने कपडा लगाउने र पानी जम्न नदिने उपाय अपनाउन सुझाव दिइएको छ। राहतमा खाद्यान्नसँगै सुरक्षित पानी, पानी शुद्धीकरण सामग्री, साबुन, झुल, सरसफाइका सामग्री र औषधि पनि उपलब्ध गराउनुपर्ने विशेषज्ञहरूको जोड छ।































