
उसले राहत दिन्छ र निकास खोज्छ,
यहां बालखले आमाको लाश खोज्छ।

कसैले त गर्छ विपतमै पनि राजनीति,
जो सर्वस्व गुमायो ऊ निवास खोज्छ।
सबैलाई आआफ्नै रोटी सेक्नु छ यहा,
छिमेकीले समेत आफ्नै दाश खोज्छ।

हिमाल पगाल्नेले गर्छन् राहातका कुरा,
जसले सधैं गरिब देशको नाश खोज्छ।
आज यो देश रोयो सयौंको ज्यान गयो,
फेरीपनि बाच्न एकमुट्ठी साहास खोज्छ।
जसले श्रद्धाञ्जली लेख्न सकेन उसैले,
लाशबाट पनि जीवनको सुभाश खोज्छ।
॥१॥
देश रोएकोवेला आसु बगाए बरू,
नराम्रो नबोल समाज जगाए बरू।
आऊ शोकको घडीमा साथी बनि,
सहयोगका पाइलाहरू डगाए बरू।
बैगुनी नबनौं गरौं कार्य उद्धारका,
सक्छौ सहयोगी गुन लगाए बरू।

थाहा छ मेलापर्व तीज नजिकमा,
विपत्तको गडिमा गित नगाए बरू।
दिनरात उद्धारमा खटेका छन् यहा
साथ सहयोगले थकाई भगाए बरू।
॥२॥
राष्ट्रिय एकताको धेरै खांचो अचेल बनेर आयो,
सयौं निर्दोश बगाउने दुष्ट त्यो भेल बनेर आयो।
भएछ बिष्फोट हिमको आयो बाढी रूसुवामा,
सर्वस्व बगाउने खोला दैवको खेल बनेर आयो।
कांधमा काधं मिलाई सबै मिलेर हिडौं अब त,
प्राकृती प्रकोपले जीवन नै ओझेल बनेर आयो।
काम लाग्यो न कुनै चटक नचमत्कार खोलामा,
हिउमै बिस्फोट हुदा सबथोक फेल बनेर आयो।
जसरी गएपनि जसले लगेपनि नेपाली चोला,
कालसङ्ग साइनो अकालमै वेमेल बनेर आयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























