
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधियुक्त नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्। बिहीबार अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा मस्कले थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन्।

टेस्लाको आधिकारिक एक्स अकाउन्टबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो। प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भन्दै नयाँ प्रविधिको सम्भावनाबारे चर्चा गरेका थिए।
मस्कका अनुसार उक्त कारमा उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ। त्यसबाट निस्कने हावाको दबाबले गाडीलाई माथितर्फ धकेल्न सक्ने उनको भनाइ छ। यद्यपि, कारको प्रविधि अपेक्षाअनुसार सफल हुने निश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको मस्कले बताएका छन्।



टेस्ला र स्पेसएक्सको संयुक्त प्राविधिक क्षमताको चर्चा गर्दै उनले विश्वकै उत्कृष्ट कार निर्माता र रकेट कम्पनीबीचको सहकार्यले यस्तो नवीन प्रविधिको विकास सम्भव भएको बताए। मस्कले उक्त कार सन् २०२८ मा उत्पादनमा लैजाने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।
उड्ने कारको अवधारणा नयाँ भने होइन। प्राविधिक जटिलता, सुरक्षासम्बन्धी प्रश्न र नियामक चुनौतीका कारण यस्तो गाडीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन लामो समयदेखि कठिनाइ हुँदै आएको छ।
अमेरिकी उड्डयन क्षेत्रका अग्रणी ग्लेन कर्टिसले सन् १९१७ मै उड्ने कारको प्रारम्भिक नमुना प्रस्तुत गरेका थिए। त्यसयता विभिन्न कम्पनी तथा अनुसन्धानकर्ताले यस क्षेत्रमा प्रयास गर्दै आएका छन्। पछिल्ला वर्षमा विद्युतीय मोटर, ब्याट्री र स्वचालित प्रविधिको विकाससँगै उड्ने सवारीसाधनप्रति चासो बढेको छ।
मस्कको नयाँ परियोजना सफल भएमा भविष्यमा यातायात प्रविधिमा नयाँ सम्भावना खुल्न सक्छ। तर, कारले वास्तविक रूपमा कति उचाइसम्म उड्न सक्छ, यसको सुरक्षा, व्यावहारिक उपयोग र व्यावसायिक उत्पादनको सम्भावना कस्तो हुन्छ भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।

































