
इरानबाट ग्यास आपूर्ति अवरुद्ध भएपछि पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्य ह्वात्तै बढेको छ। केही दिनअघि १२ किलोको सिलिन्डर ४ हजार ५०० पाकिस्तानी रुपैयाँमा पाइने गरेकामा अहिले बढेर ७ हजारदेखि ८ हजार २०० रुपैयाँसम्म पुगेको छ।

रोयटर्सका अनुसार पाकिस्तान र इरानबीचका दुई प्रमुख सीमा नाका अक्टोबर १७ देखि बन्द छन्। पाकिस्तानले सुरक्षा र तस्करी नियन्त्रणको कारण देखाएको छ भने इरानले प्राविधिक समस्या उल्लेख गरेको छ।
पाकिस्तानले आफ्नो कुल एलपीजी आवश्यकताको करिब ५० प्रतिशत इरानबाट आयात गर्दै आएको छ। देशको करिब ७० प्रतिशत ग्यास विदेशबाट आयात हुने भएकाले आपूर्ति अवरुद्ध हुँदा बजारमा अभाव र मूल्यवृद्धि भएको हो। हर्मुज जलडमरुमा देखिएको अवरोधले इराक र ओमानबाट हुने आयातसमेत प्रभावित भएको बताइएको छ।




नियामक निकायले ११.८ किलोको सिलिन्डरको मूल्य ३ हजार २९६ रुपैयाँ तोके पनि बजारमा लाहोरमा ७ हजार ५०० र स्कर्दुमा ८ हजार २०० रुपैयाँसम्म बिक्री भइरहेको छ।
पेट्रोलियममन्त्री अली परवेज मलिकले सरकारले ग्यास आयात गरी बजारमा उपलब्ध गराउने र दुईदेखि तीन दिनभित्र मूल्यमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन्। सीमा बन्द हुँदा सयौँ ट्रक र ग्यास ट्यांकर रोकिएका छन् भने अन्य व्यापारसमेत प्रभावित भएको छ।



































