
धनगढी: सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा व्यवसायीहरूसँग भएको सहमतिविपरीत साधारण सभा मात्रै गर्ने तयारी गरिएको भन्दै विवाद चर्किएको छ। साधारण सभा तथा अधिवेशन गर्ने सहमति भए पनि अधिवेशनलाई बेवास्ता गरी नियमित साधारण सभाका लागि मात्रै आमन्त्रण गरिएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

व्यवसायी ज्ञानबहादुर तामाङका अनुसार २०८३ असोज २६ गते संघको प्रधान कार्यालय धनगढीमा मोहनसिंह साउदको अध्यक्षतामा कार्यसमितिका पदाधिकारी, निवर्तमान अध्यक्ष चेतराज जोशीलगायत व्यवसायीहरूबीच छलफल भएको थियो। उक्त छलफलपछि सामूहिक हस्ताक्षरसहित सहमति गरिएको थियो।
सहमतिको बुँदा नम्बर ३ मा साधारण सभा तथा अधिवेशन सम्पन्न गर्न समिति गठन गर्ने निर्णय गरिएको र व्यवसायीहरूबीच कार्तिक २७ र २८ गते साधारण सभा तथा अधिवेशन गर्ने सहमति भएको तामाङको भनाइ छ। सोही सहमतिपछि व्यवसायीहरूले संघको कार्यालयमा लगाएको तालाबन्दीसमेत खोलेका थिए।




तर, अहिले महासचिव ध्रुवराज कार्कीको हस्ताक्षरसहित नियमित साधारण सभासम्बन्धी आमन्त्रणपत्र जारी गरी कार्तिक २७ र २८ गते संघको प्रधान कार्यालयमा उपस्थित हुन भनिएको छ। यसरी साधारण सभा मात्रै गर्ने गरी गरिएको तयारीले व्यवसायीहरूसँग भएको सहमतिको मर्म उल्लङ्घन भएको तामाङको आरोप छ।
‘व्यवसायीहरूसँग साधारण सभा तथा अधिवेशन गर्ने सहमति भएको थियो। तर अहिले अधिवेशनको विषयलाई बेवास्ता गरेर साधारण सभा मात्रै गर्न खोजिएको छ,’ तामाङले भने, ‘सहमति एउटा गर्ने र व्यवहारमा अर्कै गर्ने काम स्वीकार्य हुँदैन।’
संघले जारी गरेको आमन्त्रणपत्रमा अघिल्लो साधारण सभाका निर्णयहरूको समीक्षा, वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, आय–व्यय तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल र अनुमोदनलगायतका कार्यसूची समावेश गरिएका छन्। तर, व्यवसायीहरूबीच भएको सहमतिअनुसार अधिवेशनसमेत हुने स्पष्ट व्यवस्था नरहेको भन्दै प्रश्न उठाइएको छ।
कार्यालयमा तालाबन्दी भएपछि सहमतिमार्फत ताला खोलिएको अवस्थामा पुनः सहमतिविपरीत गतिविधि भएको व्यवसायीहरूको भनाइ छ। उनीहरूले साधारण सभा मात्रै नभई सहमतिअनुसार साधारण सभा तथा अधिवेशन दुवै प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
संघभित्रको विवादले व्यवसायीहरूबीच भएको सहमति कार्यान्वयन र नेतृत्व चयनको प्रक्रियामाथि प्रश्न उठाएको छ। यस विषयमा संघका महासचिव ध्रुवराज कार्कीलगायत सम्बन्धित पदाधिकारीको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समावेश गर्न सकिनेछ।




































