
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको प्रहरी नीति समन्वय समिति (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे चार घण्टासम्म छलफल भएको छ। बैठकमा मुख्य रूपमा इनम सापकोटासम्बन्धी अनुसन्धानको सूचना चुहावट र आईजीपीविरुद्ध भइरहेको प्रचारबारे छलफल भएको प्रहरीका उच्च अधिकारीले बताएका छन्।

बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी), आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) र आईजीपी कार्की सहभागी थिए। अनुसन्धानका क्रममा रहेका विषयको सूचना बाहिरिएको घटनालाई गम्भीर रूपमा लिँदै त्यसबारे अनुसन्धान तथा दोषीमाथि कारबाही गर्ने विषयमा छलफल भएको जनाइएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध रहेको चर्चा गरिएकी इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन्। उनीसम्बन्धी अनुसन्धानका विवरण बाहिरिएको विषयले प्रहरी नेतृत्वको ध्यान तानेको हो।




बैठकमा आईजीपी कार्कीलाई सरकारले पदबाट हटाउन लागेको भन्ने सार्वजनिक विवरणबारे पनि छलफल भएको थियो। सहभागी उच्च प्रहरी अधिकारीहरूले त्यस्ता विवरणलाई निराधार प्रचारको संज्ञा दिएका छन्। संगठन प्रमुखविरुद्ध भइरहेको प्रचारको सामूहिक रूपमा प्रतिवाद गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
आफूविरुद्ध सार्वजनिक भइरहेका विवरणबारे धारणा राख्दै आईजीपी कार्कीले बाहिर आएका विषय सत्य नभएको दाबी गरेका छन्। उनले प्रहरी अधिकारीहरूलाई भ्रममा नपर्न आग्रह गर्दै संगठनभित्र एकता कायम राख्नुपर्ने सन्देश दिएको बैठकमा सहभागी अधिकारीहरूले बताएका छन्।



































