
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारलाई निरंकुशताको बाटोमा नहिँड्न चेतावनी दिएका छन्।

महरले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रहरीले नेपाल प्रेसको कार्यालयमै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई पक्राउ पुर्जीबिना नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनका अनुसार अन्य पत्रकारको समेत खोजी भइरहेको छ भने नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई साइबर ब्युरोमा बोलाइएको छ।
पत्रकारलाई तर्साउने र सञ्चारमाध्यमको आवाज बन्द गर्ने प्रयास लोकतान्त्रिक व्यवस्थाविरुद्धको कदम भएको महरको भनाइ छ। उनले सरकारका यस्ता गतिविधिले विधिको शासन, कानुनी राज्य र संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्।




‘सरकारबाट भएका यी सबै कार्य भर्त्सनायोग्य छन्। यसको घोर निन्दा गर्दै अविलम्ब यस्ता क्रियाकलाप बन्द गर्न सरकारलाई चेतावनी दिन चाहन्छु,’ महरले भनेका छन्।
उनले लोकतन्त्रवादी राष्ट्रिय शआयनक्ति तथा आम नागरिकलाई सरकारका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै निरंकुश र तानाशाही कदमविरुद्ध चुप लागेर नबस्न तथा आवाज बुलन्द गर्न अपिल गरेका छन्।
जनमतको सम्मान गर्दै लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ।



































