
इलाम: प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विराटनगरस्थित स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशमा सिफारिस गरिएको छ।

जिल्ला अस्पताल इलामले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र जीवन नै जोखिममा पर्न सक्ने अवस्था देखिएकाले थप उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो।
टाइप–२ मधुमेहका बिरामी रहेका डा. केसीलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे उपचारका लागि इलाम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको तथा पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको अस्पतालले जनाएको छ।




स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि अस्पतालले उनको अवस्थालाई गम्भीरतापूर्वक लिँदै थप तथा विशेष उपचारको आवश्यकता औँल्याएको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, विशेषज्ञ चिकित्सक तथा उपचारको प्रबन्ध मिलाउन अनुरोध गरिएको छ।
डा. केसीको स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने भएकाले उपचारमा ढिलाइ नगरी आवश्यक प्रक्रिया अघि बढाउन अस्पतालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।



































