
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

दिनको पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रनेछ। पहिलो खेलमा जितविहीन रहेको काठमाडौंका लागि आजको खेल अंकतालिकामा सुधार गर्ने अवसरसमेत हुनेछ।
यता कर्णाली याक्स भने उत्कृष्ट लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रनेछ। दुई खेल खेलेको कर्णालीले दुवैमा जित निकाल्दै चार अंक जोडिसकेको छ। लगातार दुई जितले उत्साहित कर्णाली आजको खेल जित्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्ने योजनामा हुनेछ।




त्यस्तै, आजको दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा मात्र जित निकालेको छ भने दुई खेलमा पराजय बेहोरेको छ। त्यसैले चौथो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने दबाब सुदूरपश्चिममाथि छ।
अर्कोतर्फ चितवन राइनोजले भने अहिलेसम्म खेलेका दुई खेलमा हार बेहोरेको छैन। एक खेलमा जित निकालेको चितवनले अर्को खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।
आजका दुवै खेलले अंकतालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। विशेषगरी सुदूरपश्चिम र चितवनबीचको प्रतिस्पर्धालाई दर्शकले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।


































