
बाजुराः काम सुरु नै नगरी वर्षौंदेखि अलपत्र रहेका बाजुराका दुईवटा पक्की पुलको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्माण सम्झौता भएको लामो समयसम्म पनि काम अघि नबढेपछि ठेक्का रद्द गरी दुवै पुल निर्माणका लागि नयाँ प्रक्रिया अघि बढाइएको हो।

बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने बुढीगंगा नदीमाथिको ‘मौरे पुल’ र मार्तडी नजिकै बडीमालिका नगरपालिकास्थित ठुलीसाँघु खोलामा निर्माण गर्ने भनिएको पुलको ठेक्का रद्द गरिएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले जनाएको छ।
कार्यालयका अनुसार मौरे पुल निर्माणका लागि २०७८ माघ ११ गते काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा सम्झौता भएको थियो। २०८१ फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कम्पनीले काम सुरु नगरेपछि ठेक्का रद्द गर्दै कालोसूचीमा राख्न सिफारिस गरिएको थियो। ठेक्का विवाद अदालतसम्म पुगेकोमा २०८३ साउनमा अदालतले योजना कार्यालयकै पक्षमा फैसला गरेपछि निर्माण प्रक्रिया अघि बढेको सूचना अधिकारी इन्जिनियर रवि शाहले जानकारी दिए।




यस्तै, मार्तडी–घट्मुना सडकखण्डअन्तर्गतको ठुलीसाँघु खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्ने सम्झौता पनि रद्द गरिएको छ। उक्त पुल २०७७ फागुन १० गते सम्झौता गरी २०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। दुवै पुल एउटै प्याकेजमा निर्माण गर्ने गरी बिकोई बिल्डर्ससँग सम्झौता भएको भए पनि कम्पनीको लापरबाहीका कारण ठेक्का रद्द गर्नुपरेको कार्यालयले जनाएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पनि सामाजिक सञ्जालमार्फत दुवै पुलको ठेक्का रद्द गरी नयाँ निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
वर्षायाममा पुल नहुँदा स्थानीय तहबीचको आवतजावत नै अवरुद्ध हुने समस्या रहेकाले निर्माण कार्य शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको मन्त्री लम्सालले बताएका छन्। यसअघि दुवै आयोजनाको निर्माण अघि बढाउने तयारीस्वरूप इन्जिनियर खटाएर स्थलगत परीक्षणसमेत गरिएको थियो।


































