
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन घरको सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाई पूजा गर्नुका साथै मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार यमराजको द्वारमा श्याम र सबल नामका दुई कुकुर द्वारपालका रूपमा रहने धार्मिक विश्वास छ। यस दिन कुकुरलाई मीठा परिकार खुवाउँदा यमलोक जाँदा उनीहरूले बाटो छोडिदिने मान्यता रहेकाले कुकुर तिहार मनाउने गरिएको हो।
धार्मिक मान्यताअनुसार कुकुरले महाभारतका पात्र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्राका क्रममा समेत साथ दिएको थियो। कुकुरलाई आज्ञापालक, इमानदार र सुरक्षाका दृष्टिले भरपर्दो जनावरका रूपमा लिइन्छ।




आजै नरक चतुर्दशी पनि मनाइँदैछ। यस अवसरमा बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान, तर्पण गरी यमदीप दक्षिणतर्फ फर्काएर बगाउने चलन छ। यसरी दीप बगाउँदा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास छ। तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा पनि रहेको छ।



































