
धनगढीः कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोट प्रक्रिया सुरु हुने भएको छ। प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न कात्तिक २८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको हो।

छनोट प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का ‘रबी’ले जानकारी दिएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट, तयारी र सहभागिताबारे जानकारी गराएको हो।
सदस्य–सचिव खड्काका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट विभिन्न खेल विधाका लागि २ हजार ४ सय ६४ जना खेलाडी छनोट भएर आएका छन्। जिल्लास्तरबाट छनोट भएका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा गराएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अन्तिम टोली तयार गरिनेछ।




कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा खेलाडी, अफिसियल तथा प्रशिक्षक गरी ७ सय ४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन गरिनेछ।
सुदूरपश्चिम प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३० वटा खेल विधामा सहभागिता जनाउने तयारी गरेको छ। सोहीअनुसार सम्बन्धित खेलका खेलाडी तथा प्रशिक्षक छनोट गर्न प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ।
प्रदेशस्तरीय छनोटमा खेलाडीहरूले आफ्नो खेल कौशल र प्रदर्शनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशको उपस्थिति बलियो बनाउँदै बढीभन्दा बढी पदक हासिल गर्ने लक्ष्यसहित खेलाडी छनोट, प्रशिक्षण तथा व्यवस्थापनको तयारी अघि बढाइएको परिषद्ले जनाएको छ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिमका खेलाडीका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्दै राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रदेशस्तरीय छनोटपछि उत्कृष्ट खेलाडी समेटेर राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ।



































