
पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।




सोमबार राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।



































