
बझाङ: थलारा गाउँपालिका–९ कुलाकाट्नेमा रहेको पूर्ण चन्द्रोदय माध्यमिक विद्यालयको आयोजनामा शुभदीपावली तथा छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा थलारा गाउँपालिका–९ का वडा अध्यक्ष लोकेन्द्र विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य ज्ञानु नेपाली, वडा सदस्य सीता लुहार, मोहनबहादुर जोशी, सेती क्याम्पसका नरेशबहादुर डेउडा, थलारा माध्यमिक विद्यालयका शिक्षक प्रेम सिंह, जनप्रिय माध्यमिक विद्यालयका शिक्षकशिक्षक भीमबहादुर खड्का, नवीन विष्ट, विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापा, तथा शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरबहादुर डेउडा लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।




कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले चाडपर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने बताउनुभयो। उहाँले विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई समाजको शैक्षिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको महत्वपूर्ण आधार भएकाले यसको विकासमा सबै पक्षको साझा चासो र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै उहाँले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थितिबाट प्राप्त हुने सुझाव, सल्लाह र सहयोगले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको उज्ज्वल भविष्य, अभिभावकको जिम्मेवारी तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए।
चियापान तथा शुभकामना आदानप्रदानका माध्यमबाट विद्यालय, अभिभावक, जनप्रतिनिधि र समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वबीच आत्मीयता, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
पछिल्लो समय विद्यालयको शैक्षिक उन्नयनमा समुदायको सहभागिता र अपनत्व अपरिहार्य बन्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले विद्यालय र समाजबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नवीन खड्काले गर्नुभएको थियो।



































