
नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको महत्वाकांक्षी चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को ‘World of Mona Lisaa – First Look Motion Poster’ सार्वजनिक गरिएको छ।

नेपाल र भारतको संयुक्त सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा भारतका विभिन्न प्रतिष्ठित तथा चर्चित निर्माण संस्था, प्रोडक्सन हाउस र अनुभवी प्राविधिक टोलीहरूको सहकार्य रहनेछ।
चलचित्रको पूर्वनिर्माण अर्थात् प्रि–प्रोडक्सनसम्बन्धी काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको छ। चलचित्रको छायाङ्कन आगामी असार महिनादेखि सुरु गर्ने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना रहेको छ। रामोजी फिल्म सिटी विश्वकै ठूलो एकीकृत फिल्म स्टुडियो परिसरमध्ये एकका रूपमा परिचित छ।




यस चलचित्रको निर्माण तथा प्राविधिक पक्षलाई विशेष प्राथमिकता दिइएको छ। सम्पादन, रङ संयोजन (कलर ग्रेडिङ), ध्वनि डिजाइन (साउन्ड डिजाइन), दृश्य प्रभाव (भिजुअल इफेक्ट्स), डीआई (डिजिटल इन्टरमिडियट), पब्लिसिटी डिजाइनलगायत पोस्ट–प्रोडक्सनका अधिकांश महत्वपूर्ण काम भारतका प्रतिष्ठित कम्पनी, प्रोडक्सन हाउस तथा अनुभवी प्राविधिक टोलीहरूसँगको सहकार्यमा सम्पन्न गरिने निर्माण पक्षले जनाएको छ।
ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको यस चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ। भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारहरूको पनि महत्वपूर्ण सहभागिता रहनेछ। कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
त्यस्तै, चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको पनि निर्माण पक्षले जनाएको छ। यसले चलचित्रलाई नेपाल र भारतमा मात्र सीमित नराखी फराकिलो अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको देखिन्छ।
यसैबीच, चलचित्रको अन्तर्राष्ट्रिय डिजिटल वितरण तथा प्रदर्शनलाई लक्षित गर्दै विश्वका अग्रणी ओटीटी (OTT) प्लेटफर्महरूसँग समेत छलफल तथा वार्ता भइरहेको निर्माण पक्षले जनाएको छ। ती प्लेटफर्महरूसँगको सहकार्यबारे सकारात्मक छलफल अघि बढिरहेको र यससम्बन्धी अन्तिम निर्णय छिट्टै सार्वजनिक गरिने निर्माण पक्षको भनाइ छ।
नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको ‘मोनालिसा ब्लडी लभ’ नेपाली चलचित्र क्षेत्रका लागि एउटा महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ।
फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएसँगै चलचित्रको आगामी निर्माण प्रक्रिया, कलाकारहरूको औपचारिक घोषणा र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाप्रति दर्शक तथा चलचित्र क्षेत्रको चासो बढ्ने अपेक्षा गरिएको छ।



































