
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन्।
टोलीमा समावेश अभिशेष गौतमले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने अवसर पाउने सम्भावना छ। उनले यसअघि राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका थिए।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफका लागि सहभागी टोलीहरू नेपाल आउने क्रम जारी छ। युगान्डा र इटालीको टोली नेपाल आइसकेका छन् भने नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ। जर्सीको टोलीसमेत चाँडै नेपाल आइपुग्ने तयारीमा रहेको छ।
विश्वकप छनोटको महत्वपूर्ण प्रतियोगिताका रूपमा रहेको प्लेअफमा नेपाली टोली घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ।




























