धनगढीमा २९० जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गरीदै

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ। उपमहानगरले यो वर्ष भने २९० जनालाई सामग्री वितरण गर्ने भएको हो। गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको थियो । नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको हो।

CP Hospital Dhangadhi

उपमहानगरको वडा नम्बर १८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र फूलबारीमा चैत २१ गते लागेको शिविरमा ६० जनालाई नापजाँच गर्दा ५५ जनालाई अपाङ्गता सामग्री आवश्यक रहेको उपमहानगरले जनाएको छ। यस्तै, चैत २९ गते वडा नम्बर १७ को सहरी स्वास्थ्य केन्द्र धुर्जन्नामा लागेको शिविरमा ७० जना, बैशाख ९ गते वडा नम्बर १० को घुइयाँघाट सहरी स्वास्थ्य केन्द्रमा लागेको शिविरमा ४५ जना अपाङ्गता भएका व्यक्ति फेला परेका हुन्। यसैगरी, वडा नम्बर ११ को घोड्सुवा सहरी स्वास्थ्य केन्द्रमा बैशाख १० गते लागेको शिविरमा ३५ तथा बैशाख १२ गते नगरपालिका परिसरमा लागेको शिविरबाट ८५ जना अपाङ्गता भएका व्यक्ति पत्ता लागेका हुन्। स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिहरूलाई असार १५ भित्र सहायता सामग्री वितरण गरिसक्ने महिला विकास अधिकृत पंकजा जोशीले बताइन्। उनले अपाङ्गता भएका व्यक्ति शिविर लागेको ठाउँमा आउन समस्या हुने ठानेर धनगढीको विभिन्न पाँच ठाउँमा शिविर लगाउने गरेको बताइन्।

Attariya Hospital

गत वर्ष पनि धनगढीका १७९ जना अपाङ्गता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री निस्शुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्। ू गत वर्ष १७९ जनालाई २०५ किसिमका सहायता सामग्री वितरण गरिएको थियो। सहायता सामग्री वितरण गर्न ३२ लाख खर्च भएको थियो। यो वर्ष पनि सहायता सामग्री वितरण गर्न विभिन्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर नापजाँच गरिएको हो, महिला विकास अधिकृत जोशीले वताइन्।

nawajiwan

यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएकोमा धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको हो। यो वर्ष शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई समेत सहायता सामग्री प्रदान गरिने भएको छ। बजेट अपुग भएको अवस्थामा स्क्रिनिङ्ग गरिएका सम्पूर्ण व्यक्तिलाई सहायता सामग्री दिन समस्या नहुने उपमहानगरले जनाएको छ। सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति रहेको महिला विकास अधिकृत जोशीले बताइन्।