
अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जनाएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो । बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले बताए ।

पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असफल बनाउने विविध क्रियाकलापहरू गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम मिति २०८१\५\१३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको जारी विज्ञप्तिमा लेखिएको छ ।

कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए ।































