
देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् ।

तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।

बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।






























