
एनपिएल क्रिकेटमा बिराटनगरको पहिलो रोमाञ्चक जित, बिराटनगर २ बिकेटले बिजयी भएको छ ।

बिराटनगर किंग्सले पहिलो जितमा बनायो नयाँ कीर्तिमान : एनपिएलमा सबै भन्दा उच्च लक्ष्यको रेकर्ड बनाउँदै बिराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको छ ।
हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य बिराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।

त्यसअघि विराटनगरको जितको आधार तयार गर्न ओपनर लोकेश बमले अर्धशतक प्रहार गरे। १८औं ओभरको चौथो बलमा रेमन्ड सिमन्सको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
अर्का ओपनर इस्मत अलाम भने शून्यमै आउट भएका थिए। उनी आउट भएपछि ब्याटिङमा आएका मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे। आठौं ओभरमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि उनले ६ चौका प्रहार गरे।
































