
लम्किचुहाः लम्किचुहा नगरपालिका-२ स्थित सहिद स्मृति माध्यमिक विद्यालयमा झोला वितरणको बहानामा बालबालिकालाई लक्षित गरी खुलेआम धर्म प्रचार गरेको घटना सार्वजनिक भएको छ। संविधानले यस्ता क्रियाकलापलाई गैरकानुनी मानेको अवस्थामा यो कार्यले सामाजिक र कानूनी बहस चर्काएको छ।

संविधानको धारा २६ को उपधारा ३ मा कुनै व्यक्तिको धर्म परिवर्तन गराउने वा अरूको धर्ममा हस्तक्षेप गर्ने कार्यलाई कानुनद्वारा दण्डनीय बनाइएको छ। तर, विद्यालयमा पास्टर जनमेजय भट्टराईको नेतृत्वमा भएको कार्यक्रममा विपन्न विद्यार्थीलाई झोला वितरणको निहुँमा बाइबल प्रचार गरिएको देखिन्छ। यस विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले स्थानीय तहमा विवाद सिर्जना गरेको छ।
नगर प्रमुख सुशीला शाहीले विद्यालयमा धर्म प्रचार भएकोबारे आफूलाई जानकारी नभएको तर भिडियो हेरेपछि घटनाबारे थाहा पाएको बताएकी छिन्। “विद्यार्थीलाई प्रभावित पार्न यस्ता कार्य गर्न मिल्दैन। यस्तो गल्ती गर्ने र गर्न सहयोग गर्नेहरूमाथि कारबाही गर्नेछौं,” उनले भनिन्। प्रमुख शाहीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई स्पष्टीकरणका लागि बोलाइएको जानकारी गराइन्।


विद्यालय व्यवस्थापनले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकालले भने, “हामीले विपन्न विद्यार्थीलाई झोला बाँड्ने कार्यका लागि अनुमति दिएका थियौं। पास्टरले मन्तव्य दिन्छु भनेपछि यस्ता कुराहरू अघि सारे। यो हाम्रो योजना वा सहमतिमा भएको थिएन।” विद्यालयले पास्टरले आफूहरूलाई झुक्काएर धर्म प्रचार गरेको भन्दै यस घटनामा आफ्नो दोष नभएको बताएको छ।
घटनाले विद्यालय प्रशासन र स्थानीय सरकारको भूमिका माथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दाले विद्यालयमा धर्म प्रचार जस्तो संवेदनशील विषयलाई हल्का रुपमा लिएको भन्दै आलोचना गरिरहेका छन्।
यस्तो घटनाले बालबालिकालाई प्रभावित पार्न सक्ने भएकाले यस विषयमा थप कडा निगरानी र नियन्त्रणका लागि स्थानीय तहले कदम चाल्नुपर्ने देखिएको छ।






























