
धनगढी : स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा ‘सभ्य समाजको आधार ः ज्येष्ठ नागरिक मैत्री घरपरिवार’ भन्ने मुला नाराका साथ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । जेष्ठ नागरिक जिल्ला संघ सहकार्यमा धनगढी उपमहानगरपालिका–रामजानकी मन्दिर स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा १३० जनाले स्वास्थ्य सेवा लिएका थिए । वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो । नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । नेपालको संविधान, २०७२ को धारा (४१) मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वद्र्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी ज्येष्ठ नागरिकहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नारा सार्थक हुन सक्दछ अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन् । तसर्थ, उनीहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्नु आवश्यक छ ।































