
धनगढी: सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजना र राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा कञ्चनपुरको महेन्द्रनगरमा सनिबार प्रादेशिक लोकगायन प्रतियोगिता तथा सांस्कृतिक उत्सव सम्पन्न भएको छ। समारोहको समुदघाटन गर्दे सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा संस्कृतिविद् राजेन्द्रसिंह रावलले कला र संस्कृतिको सम्बर्धन बिना राज्यको समृद्धि हुन नसक्ने बताए। उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रशंसनीय कार्य गरिरहेको समेत बताए।
समारोहको सभाध्यक्षता गरिरहेका सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले सुदूरपश्चिम लोकसाहित्य र कलाको भण्डार भएको बताऊदै प्रतिष्ठानले प्रदेशको सांस्कृतिक विकासका लागि संस्कृति निर्माणमा पहल गर्ने बताए। उनले मानवीय आचरण र क्रियाकलापको समष्टी रूप नै संस्कृति भएको बताऊदै लोकगीत सांस्कृतिक बैभव भएको बताए। प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउन ऐन संशोधन हुन लागेको समेत बताए।

प्रादेशिक प्रतियोगितामा कैलालीकी लक्ष्मी राना प्रथम, डडेल्धुराका अर्जुन चटौत द्वितीय र कञ्चनपुरका पवन औजीले तृतीय स्थान प्राप्त गर्न सफल भए भने अछामका रूपक परियारले सान्त्वना स्थान प्राप्त गरे। पुरस्कृत प्रतिभालाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो। सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागिता रहेको प्रतियोगितामा लोकभाका र लोकनृत्यसमेत प्रस्तुत भए। समारोहमा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावल र उपकुलपति डा. जोशीले पुरस्कृत प्रतिभाहरू र बिभिन्न बिधामा योगदान पुर्याऊने स्रष्टा र शिक्षासेवीलाई सम्मानित समेत गर्नु भयो। दुइ हजार बढी दर्शकको सहभागिता रहेको समारोहमा बैतडीको छलिया, डोटीको हुडकेली र कुमाऊनी लोकनृत्य समेत प्रस्तुत भए। समारोहमा पूर्व सांसद यज्ञराज पाठक,वरिष्ठ लोकगायकहरू नरेन्द्रराज रेग्मी, लालबहादुर थापा, लालबहादुर धामी अछामी बड्डो, लोकगायिका लक्ष्मी आचार्य लगायतले प्रस्तुति राखेका थिए। कार्यक्रम सञ्चालन राष्ट्रिय उदघोषक केपी कलौनीले गरेका थिए।































