गेटामा ३ सय शय्याको अस्पताल तत्काल सुरु गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

Image
Nisarga Hospital

अत्तरिया : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा तीन सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्न सकिने बताएका छन ।

CP Hospital Dhangadhi

नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमबीबीएस पढाई सञ्चालन गर्नका लागि तीन शय्याको अस्पताल तत्काल चलाउन सकिने बताए । त्यसका लागि मन्त्रालयले तयारी थालेको मन्त्रीको भनाइ छ ।

तीन सय शय्याको अस्पताल सञ्चालन गर्न एक अर्ब बजेट आवश्यक हुने भन्दै उनले तत्काल त्यति स्रोत जुटाउन सक्ने अवस्था नरहेकाले न्यूनतम खर्चमा अस्पताल चलाउने जमर्को भइरहेको बताए । उनले भने, “स्वास्थ्य मन्त्रालयको जनशक्ति, छात्रवृत्तिको जनशक्ति, हाल गेटास्थित अस्पतालमा कार्यरत जनशक्ति र थोरै संख्यामा ओएनएम गरेर थप जनशक्ति लिएर ३०० शय्याको अस्पताल सञ्चालन गर्छौं ।”

nawajiwan

सरकारले छात्रवृत्तिका १२ डाक्टर र १२ जना नर्स तत्कालै गेटास्थित अस्पतालमा पठाउने मन्त्रीको भनाइ थियो । गेटामा अहिले चलिरहेको ५० शय्याको अस्पतालमा आकस्मिक सेवा २४ घण्टा चल्न नसकिरहेको मन्त्रीले बताए । उनले सघन उपचार कक्ष (आइसीयु) र साधारण वार्डसमेत नचलेको उल्लेख गर्दै जनशक्ति थप गरेर तीन सय शय्याको अस्पताल नियमित सञ्चालन हुने बनाउने उल्लेख गरे।

Attariya Hospital

उनले आउने असारदेखि गेटामा एमबीबीएस पढाई सञ्चालन गर्नका लागि सरकारले कोसिस गरिरहेको दावी गरे । अहिले ५० शय्याको अस्पताल चलिरहेको गेटामा तीन सय शय्याको अस्पताल चलाएर एमबीबीएस पढाई सुरु गर्न सकिने मन्त्रीको भनाइ छ ।
“एमबीबीएस पढाई सुरु गर्नका लागि तीन शय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने ऐनमा प्रावधान रहेको छ”, मन्त्रीले भने,“तर, छ वटा प्रदेशमा एमबीबीएस कार्यक्रम सुरु भइसकेकाले बाँकी रहेको सुदूरपश्चिममा एमबीबीएस पढाई सुरु गर्न सकिने गरी चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भएको कारणले निर्णय गर्न सक्छ ।”

विश्वविद्यालय बनाउनु अगाडि नै तीन शय्याको अस्पताल चलाएर एमबीबीएस पढाई सुरु गर्न सकिने मन्त्रीको भनाइ छ । गेटामा सात अर्ब लगानीमा अत्यन्त व्यवस्थित पूर्वाधार बनेको जनाउँदै मन्त्री पौडेलले मेडिकल विश्वविद्यालय बनाउनका निम्ति पूर्वाधार बनाएरमात्रै नहुने उल्लेख गर्दै भने,“त्यसका लागि अस्पताल आवश्यक पर्दछ । मेडिकल पढाइको सञ्चालन हुनुपर्दछ ।”

उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि ऐन संसदको समितिमा रहेको भन्दै चाँडै सदनमा प्रस्तुत हुने विश्वास व्यक्त गरे । यहाँ विश्वविद्यालय बनाउनका लागि सबै राजनीतिक दल सहमत रहेको मन्त्रीको भनाइ छ । उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न आवश्यक रहेको जनाउँदै यसका लागि सबैको पहलकद्मी आवश्यक रहेको औंल्याए ।
“विश्वविद्यालय बनेपछिमात्रै अस्पताल चल्छ र एमबीबीएस पढाई हुन्छ भन्ने होइन”, मन्त्री पौडेलले भने,“यहाँ अहिले नै तीन सय शय्याको अस्पताल चलाउन सकिन्छ । त्यसको तयारी मन्त्रालयले सुरु गरेको छ ।”