
आज पुस शुक्ल पूर्णिमा, वैदिक सनातन परम्पराअनुसार माघ महिनाभरि चल्ने स्वस्थानी व्रत तथा पूजाको शुभारम्भ हुने दिन। यो दिनबाट सुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिने व्रत, स्नान, कथा वाचन, र पूजा–अर्चनाका कार्यक्रमहरू विधिपूर्वक सञ्चालन गरिन्छ।

स्वस्थानी व्रतको विशेषता देवी स्वस्थानीको उपासना हो। चार हातमा त्रिशूल, तलवार, चक्र, र कमल लिएर उपस्थित यी देवीले श्रद्धा र विश्वाससाथ पूजाआजा गर्ने भक्तहरूको मनोकांक्षा पूरा गर्ने जनविश्वास छ। यो परम्परा पौराणिक कथाहरूद्वारा पनि प्रेरित छ, जसमध्ये हिमालय पुत्री पार्वतीको शिवसँग विवाह, गोमा ब्राह्मणीको कथा, र गणेशको शिर भेदनका प्रसंगहरू उल्लेखनीय छन्।
स्वस्थानी व्रतको सामाजिक र धार्मिक महत्त्व
नारी समानता र चेतना: स्वस्थानी कथाले प्राचीन कालमा बालविवाहका असरबारे चेतना फैलाउने मात्र नभई यौन र प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, र पारिवारिक सम्बन्धहरूको चर्चा गर्छ।

दैविक शक्तिको उपासना: देवी स्वस्थानीसँगै अष्टमातृकाहरू – वैष्णवी, महाकाली, चामुण्डा, इन्द्राणी, वाराही, कोमारी, महेश्वरी, र ब्राह्मीको पूजा गरिन्छ।

स्नान र दानको महत्त्व: माघ महिनामा पवित्र नदीमा स्नान गर्ने र तिल, गुड, घ्यू, कम्बल दान गर्ने चलनले धार्मिक पुण्य कमाउने विश्वास गरिएको छ।
पूर्णिमाको दिन पृथ्वीको गुरुत्व बल विशेष प्रभावकारी हुने भएकाले आत्मशुद्धि, शरीरको मेटाबोलिज्म सुधार, र सकारात्मक ऊर्जा प्रवाहमा यस दिनको उपवास फलदायी मानिन्छ।
स्वस्थानी व्रत समापनमा मेलाको आयोजना, जाग्राम, भजन–कीर्तन, र नृत्यजस्ता सामाजिक गतिविधिले यस परम्परालाई अझ विशेष बनाउँछ। काठमाडौँको शाली नदीसहित विभिन्न तीर्थस्थलमा श्रद्धालुको भिडले धार्मिक आस्था र संस्कृतिको गहिरो झल्को दिन्छ।






























