
बैतडी: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएका दुबै खेल वर्षाका कारण स्थगित भएका छन्।

धनगढीको फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएकाे कर्णाली र गण्डकी तथा दिउँसो १ बजे एपिएफ र लुम्बिनीबीचकाे खेल वर्षाका कारण स्थगित भएका हुन्।
बिहानैदेखि वर्षा भइरहेकाले खेल हुन सक्ने अवस्था नरहेपछि दुबै खेल स्थगित भएका म्याच रेफ्री माेहम्मद सफिकले बताउनुभयाे ।

खेल हुन सक्ने अवस्था नभएपछि चारवटै टाेलीले १/१ अंक बाँडेका छन्। माघ १ गतेदेखि सुरू भएकाे प्रतियोगिता ९ टाेलीकाे सहभागीता रहेकाे छ।
सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागीता रहेकाे प्रतियोगिता संयाेजक दिनेश सिंहले बताउनुभयो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।
प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले बताउनुभयाे।
यस्तै दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।
प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूकाे रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएको छ।






























