
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले शतक प्रहार गर्दै टिमलाई शानदार जित दिलाएका छन्। आइतबारदेखि सुरु भएको प्रतियोगितामा यो पहिलो शतक हो।

दाङको लमहीमा भएको खेलमा किरणले गण्डकी प्रदेशविरुद्ध नटआउट १२१ रन बनाएपछि सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले पराजित गर्यो।
२२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले किरणको उत्कृष्ट प्रदर्शनको मद्दतले ४ विकेटको क्षतिमा ४३ ओभरमै जित सुनिश्चित गर्यो। किरणले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। कप्तान नारायण जोशीले पनि ४७ बलमा नटआउट ३८ रनको योगदान दिए।


यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ८ विकेटको क्षतिमा २२० रन बनाएको थियो। गण्डकीका लागि अर्जुन कुमालले ५७ रन र दीपक डुम्रेले ६० रन जोडे। बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले ३ विकेट तथा नारायण जोशीले २ विकेट लिए।
प्रतियोगितामा सुदूरपश्चिमले आफ्नो पहिलो खेल गुमाएको थियो भने गण्डकीको यो पहिलो खेल थियो।






























