
राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ शुक्रबार उल्लासपूर्वक मनाइरहेका छन्। मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वका अवसरमा सार्वजनिक विदासमेत प्रदान गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता छ। राना थारू समुदायका नागरिकहरूको दीर्घायु, रोगव्याधीबाट मुक्ति तथा नकारात्मक शक्तिबाट बचाउन यो पर्व मनाइने गरिएको छ।
राना थारू समुदायमा फागु पूर्णिमादेखि एक महिनासम्म परम्परागत शैलीमा होली मनाइने चलन छ। यस अवधिमा प्रत्येक राति होली मनाइन्छ। खखडेहरा पर्वको दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जाने परम्परा छ। खखडेहरा फुटाउने क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री आवश्यक पर्छ।


राना थारू समुदायका हरेक घरबाट मानिसहरू बिहानै खप्टोमा माटोको भाँडा, सुइरो गाँसिएको मट्याङ्ग्रा बोकेर रोगव्याध, भूतप्रेत तथा अन्य नकारात्मक तत्वलाई गाउँबाहिर लगेर विसर्जन गर्ने परम्परा रहिआएको छ। खखडेहरा फुटाइसकेपछि घर फर्किंदा पछाडि फर्केर नहेर्नु पर्ने मान्यता रहेको छ।
पर्व सकिएपछि, होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवा लगायतका व्यक्तिहरूलाई टीका लगाई आशीर्वाद लिने र खुसी साटासाट गर्ने चलन रहेको छ। गर्मी बढेसँगै विभिन्न प्राकृतिक प्रकोप नआउन् भन्ने कामनासहित सामूहिक रूपमा यो पर्व मनाइन्छ।
यसैबीच, राना थारू समुदायको बाहुल्य रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकामा खखडेहरा महोत्सवसमेत मंगलबारदेखि सुरु भएको छ। कला तथा संस्कृतिको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गरिएको हो। राना कला संस्कृति संरक्षण मञ्चको आयोजनामा सम्पन्न महोत्सवमा रक्तदान कार्यक्रमसहित विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएका छन्।





























