
घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले आगो निभाउन दमकल र सुरक्षा बलले लगातार प्रयास गरिरहेको बताए। उनका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा आगो निभाउन गाह्रो भइरहेको छ। आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। यी घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने स्थानीय नागरिकहरुलाई सुरक्षित स्थानमा लगिएको छ।

आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलबस्तुबाट दमकल सेवा ल्याइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले संयुक्त रूपमा आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्।

स्थानीय प्रशासनले आगो नियन्त्रणमा ल्याउन अझै केही समय लाग्न सक्ने बताएको छ। यस घटनाले उद्योग र आसपासका घरधुरीलाई ठूलो क्षति पुग्ने आशंका छ। सुरक्षा बलले आगो निभाउने काममा अझै तीव्रता ल्याउने जनाएको छ।





























