
आईपीएल २०२५ मा सनराइजर्स हैदरावादले लगातार चौथो खेल गुमाएको छ। आइतबार राति गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएपछि हैदरावाद ५ खेलमा २ अंकसहित पुछारमा पुगेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।

गुजरातले शुभमन गिलको ६१ रनको कप्तानी पारी र रुदरफोर्डको विस्फोटक अविजित ३५ रनको मद्दतले लक्ष्य २० बल बाँकी छँदै पूरा गर्यो। मोहम्मद सिराजले ४ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने। लगातार तेस्रो जितपछि गुजरात ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

१५३ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात सुरुवाती चरणमा दबाबमा देखिए। १६ रनमै दुई विकेट गुमाएपछि कप्तान शुभमन गिलले इनिङ सम्हाले। उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६१ रन जोडे।

वासिङ्टन सुन्दरले २९ बलमा ४९ रन बनाउँदै लक्ष्य नजिक पुर्याए भने अन्त्यतिर सेरफाने रुदरफोर्डले १६ बलमा अविजित ३५ रन बनाएर गुजरातलाई २० बल बाँकी छँदै जित दिलाए।





























