
यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आफ्नो पहिलो हार ब्यहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इन्डियन्सले १२ रनको रोमाञ्चक जित निकाल्दै दिल्लीलाई पराजित गर्यो।

२०६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको दिल्ली १९ ओभरमै सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो। अन्तिम ओभरभन्दा अघिको १९औं ओभरमा मुम्बईले लगातार तीन रन आउट गर्दै खेलको पासा पल्टाएको थियो। चौथो बलमा आशुतोष शर्मा दोस्रो रनका लागि दौडँदा रन आउट भए। लगत्तै कुलदीप यादव पनि त्यही प्रयासमा पेभेलियन फर्किए। त्यसपछि ओभरको अन्तिम बलमा मोहित शर्मा रन आउट भई दिल्लीको इनिङ्स टुंगियो।
मुम्बईका स्पिनर करण शर्माले शानदार प्रदर्शन गर्दै ४ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए। दिल्लीका लागि करुण नायरले ८९ रनको साहसी पारी खेले पनि अन्य ब्याट्सम्यानहरू प्रभावशाली हुन सकेनन्।


मुम्बईका प्रमुख बलर जसप्रित बुमराहले भने अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन्। उनले ४ ओभरमा ४४ रन खर्चिएर एक मात्र विकेट लिन सके। करुण नायरले बुमराहको ओभरमा तीन चौका र दुई छक्का हिर्काउँदै जम्मा ९ बलमा २८ रन बटुले।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाउँदै २०५ रन बनायो। मुम्बईका नमन धीर र तिलक वर्माबीच पाँचौं विकेटका लागि भएको ६२ रनको साझेदारी निर्णायक सावित भयो। कप्तान हार्दिक पाण्ड्या १५औं ओभरको पहिलो बलमा आउट भएपछि धीर मैदानमा उत्रिए। उनले आक्रामक शैलीमा १७ बलमा ३८ रन जोड्दै तीन चौका र दुई छक्का प्रहार गरे।



















