
वर्षाले पञ्जाब किंग्ससँगको खेल अवरुद्ध भएपछि साबिक विजेता कलकत्ता नाइट राइडर्सको यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ प्रवेशको सम्भावना झन् कम भएको छ।

शनिबार भएको खेलमा पञ्जाब किंग्सले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कलकत्ताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो। बराबरीपछि कलकत्ता ७ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ भने पञ्जाब ११ अङ्कसहित चौथो स्थानमा पुगेको छ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले चार विकेट गुमाउँदै २०१ रन बनाएको थियो। पञ्जाबका प्रियांश आर्य र प्रभ्सीमरन सिंहले पहिलो विकेटका लागि १२० रनको शान्दार साझेदारी गरे। आर्यले ३५ बलमा ६९ रन तथा प्रभ्सीमरनले ४९ बलमा ८३ रन बनाएका थिए।


कलकत्ताका बलरहरू स्लो पिचमा संघर्षरत देखिए। सुनिल नारायण र वरुण चक्रवर्तीले संयुक्त रूपमा ८ ओभरमा ७४ रन खर्चिए। स्लो बल विशेषज्ञ हर्षित रानाले पनि एक ओभरमा २७ रन खर्चिन पुगे।
प्रभ्सीमरनले आफूले सामना गरेका अन्तिम १७ बलमा ४९ रन जोड्दै पारीलाई आक्रामक बनाएका थिए। उनले कप्तान श्रेयास ऐयरसँग ४० रनको साझेदारी गरेका थिए, जसमा ऐयरले ५ रन मात्र जोडे। प्रभ्सीमरन आउट भएपछि आक्रामक शैली अपनाएका ऐयरले अविजित रहँदै १६ बलमा २५ रन बटुले।




























