
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले कृषि तथा पशुपन्छीसम्बन्धी प्राविधिक सेवा अब नयाँ र सुविधा सम्पन्न भवनबाट सञ्चालन गर्न थालेको छ। अत्तरियास्थित वडा नं. १ को कार्यालय नजिकै निर्माण गरिएको नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको हो। भवन निर्माण सम्पन्न भई गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेसँगै यसै भवनमार्फत सेवा दिन थालिएको हो।

सोमबार आयोजित एक समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले भवन उद्घाटन गरेका थिए। यसअघि सानो टिनको छाप्रोबाट सेवा दिँदै आएको नगरपालिकाले अब अत्याधुनिक प्रयोगशालासहितको सेवा सञ्चालनमा ल्याएको हो। प्रमुख भट्टले नयाँ संरचनाबाट किसानहरूले सहज र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे।
पशु शाखा प्रमुख टेक बहादुर शाहुले भवनको अभावका कारण अघिसम्म साना खालका उपचार सेवामात्र दिइएको भए पनि अबदेखि ठूला शल्यक्रिया (मेजर सर्जरी) लगायतका सेवा पनि उपलब्ध हुने जानकारी दिए। उनका अनुसार नयाँ भवनबाट अब रक्त परीक्षण, ब्याक्टेरिया कल्चर, सेन्सेटिभ टेस्ट, अल्ट्रासाउन्ड तथा पशुपन्छीको पोस्टमार्टम सेवा पनि सुरु हुनेछ।

“यसअघि पशुपन्छीको उपचारका लागि किसानलाई धनगढी पठाउनुपर्थ्यो, जुन समय र खर्चका हिसाबले पनि अप्ठ्यारो थियो। अब सबै सेवा अत्तरियाबाटै उपलब्ध हुने भएकाले किसानलाई राहत मिल्नेछ,” शाहुले भने।

नयाँ भवनमा औषधी भण्डारण, फोहोर व्यवस्थापन र तालिम कक्षको पनि व्यवस्था गरिएको छ, जसले किसान प्रशिक्षणमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। कृषि तथा पशुपन्छी सेवा एउटै स्थानबाट उपलब्ध हुँदा किसानलाई अझ सरल र समन्वित सेवा प्रदान हुने कृषि शाखा प्रमुख नन्दी मल्लले बताइन्।
उनका अनुसार अब नगरपालिकाले माटो परीक्षण, प्रांगारिक तथा रासायनिक मल परीक्षण, बीउको गुणस्तर परीक्षणजस्ता सेवासमेत आफ्नै प्रयोगशालाबाट प्रदान गर्नेछ।
उक्त भवन नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को सहयोगमा मूल्य अभिवृद्धि करबाहेक २ करोड ४२ लाख ३० हजार रुपैयाँमा निर्माण गरिएको हो।
















