
गर्मी सुरु हुन नपाउँदै कैलालीको चुरे क्षेत्रका बासिन्दा चरम खानेपानी संकटमा परेका छन्। चुरे गाउँपालिकाका विभिन्न बस्तीहरू—जस्तै कुमैना, सिराडी, चौमासे, र मुडेतीमिलामा पानीका मुहान सुक्न थालेपछि स्थानीयवासीलाई एक गाग्री पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता परेको छ।

सिराडीका जयराज धामीका अनुसार, “नजिक कतै पानी छैन। एक घण्टा हिँडेर मुहानमा पुग्नुपर्छ, पालो कुर्नुपर्छ, अनि फर्किनुपर्छ।” उनी भन्छन्, “बिहानैदेखि पानी ओसार्ने काममा लाग्दा घरका कामकाज, बस्तुभाउ र बालबालिकाको पढाइमा गम्भीर असर परेको छ।”
स्थानीय नवीन ठगुन्ना भन्छन्, “५ बजे उठेर पानी लिन जान्छौं, ८ बजेतिर बल्ल फर्किन्छौं। पढ्नुपर्ने केटाकेटीहरू पनि पानीका कारण समयमै विद्यालय जान सक्दैनन्। यस्तो भए बस्तुभाउ पनि पाल्न गाह्रो हुँदै गयो।”
चुरे गाउँपालिका–६ का वडाध्यक्ष प्रेम साउदका अनुसार, उच्च बस्ती भएका कारण पानीका स्रोतहरू स्वाभाविक रूपमा थोरै छन्, त्यसमा पनि खडेरी परेपछि सबै मुहान सुक्न थालेका छन्। “लिफ्ट प्रणालीबाट पानी ल्याउने योजना थियो, काम केही अघि बढे पनि पछि रोकिएको सुनिएको छ। त्यसबारे गुनासो कसैले गर्यो भन्ने पनि आएको छैन,” उनले भने।
यसैगरी, गाउँपालिका–१ अन्तर्गतको मुडेतिमिलामा पनि अवस्था भयावह बनेको छ। स्थानीय ध्रुव बोहराका अनुसार, “बस्तीमा पानीको यस्तो अभाव छ कि अब त बसाइँसराइ गर्नुपर्ने अवस्था आउन लागेको छ। नजिकका सबै मुहान सुकिसके।”
उनले थपे, “बुढापाका दिनभरि पानी ओसार्न खटिन्छन्, जसका कारण बालबालिकाको पढाइ प्रभावित भएको छ। चुनाव आउँदा नेताहरू भोट माग्न आउँछन्, आश्वासन दिन्छन्, तर पछि फर्केर हेर्दैनन्।”
हाल चुरे गाउँपालिकाका सबै वडाका धेरैजसो बस्तीमा खानेपानी अभावको अवस्था छ। एक जनाले दिनभर पानी ओसार्नै लाग्ने भएकाले गाउँमा दैनन्दिनको जीवन प्रभावित भएको छ। दीर्घकालीन समाधान नखोजिए चुरेका कैयौं बस्तीहरूमा बसोबास असम्भव बन्दै जाने स्थानीयवासीको चिन्ता छ।





























