
दिल्ली क्यापिटल्ससँगको खेल वर्षाले अवरुद्ध भएपछि सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ बाट बाहिरिएको छ। वर्षाका कारण खेल पूरा हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाँडेका हुन्।

११ खेल खेलेको हैदरावादले तीनमा मात्र जित निकालेको थियो। दिल्लीसँगको बराबरीपछि हैदरावादको अंक सात पुगेको छ र बाँकी तीन खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिएको हो।
खेलमा हैदरावादका प्याट कुमिन्सले सुरुवाती तीन ओभरमा तीन विकेट लिँदै दिल्लीलाई दबाबमा पारेका थिए। दिल्लीले २० ओभरमा १३३ रन मात्र बनाएको थियो। कुमिन्सले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए भने जयदेव उनादकटले चार ओभरमा १३ रन दिँदै एक विकेट लिएका थिए।


दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुलले १० रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन्। टोलीले २९ रनमै पाँच विकेट गुमाएको थियो। ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। उनीहरूले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।
हैदरावाद बाहिरिए पनि अंक बाँडफाँटले दिल्लीलाई प्लेअफ सम्भावनामा जीवित राखेको छ। अहिले दिल्ली १३ अंकसहित पाँचौँ स्थानमा छ र शीर्ष चारमा पुग्ने प्रतिस्पर्धा तीव्र छ।





























