
मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटना थाहा नगरपालिका–३ स्थित विद्युत् प्राधिकरण नजिकैको त्रिभुवन राजपथ सडकखण्डमा आज साँझ भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्घटनामा परी अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो। दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
प्रहरीका अनुसार गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो।


दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।
दुर्घटना हुँदा बसमा केवल चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अर्यालका अनुसार, दुर्घटनामा परेका सबै जना पैदलयात्री हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























