
गृहमन्त्री रमेश लेखकले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण भइरहेको दाबी गरेका छन्। भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपपछि संसद्मा बोल्न नपाएपछि उनले बुधबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरी आफ्नो पक्ष राखेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, “मेराविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको छ। यो राजनीतिक पूर्वाग्रहले प्रेरित र षड्यन्त्रपूर्ण हो। यसको क्रम निरन्तर जारी छ भन्ने मलाई महसुस भएको छ।”

उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन पूर्णतः सार्वजनिक रहेको बताउँदै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको प्रचार असत्य रहेको स्पष्ट पारे। “अख्तियारको अनुसन्धानसम्बन्धी विषयलाई लिएर मेरो नाम जोडिएको छ, तर यो पूर्णतः गलत हो। मेरो कुनै संलग्नता छैन,” गृहमन्त्री लेखकको भनाइ छ।

पत्रकार सम्मेलनमा उनले आफूलाई बदनाम गराउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा जवाफ दिने चेतावनी पनि दिए।































